त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास यात्रुलाई हैरानी दिने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार विमानस्थल क्षेत्रमा यात्रुलाई दुःख दिने व्यक्तिहरूमाथि निगरानीका क्रममा गएराति उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा सिन्धुलीका राजकुमार राई, सर्लाहीका सूर्य माझी, मकवानपुरका मंगलमान घलान, विश्व मोक्तान र अजय लामा, बाँकेका एकेश तामाङ, पाँचथरका प्रेमकुमार मगर र खगेन्द्र लिम्बू, मोरङका आशिष खतिवडा, धनुषाका वीरेन्द्र झा तथा सिरहाका लडा मिया रहेका छन् ।
यसैगरी मोरङका पर्शुराम राई, धनुषाका रघुवीर साह, महोत्तरीका सरोजकुमार महतो, रामेछापका सन्तु तामाङ, बझाङका रामप्रसाद जोशी र विमलराज जोशी पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनीहरूले यात्रुलाई जबरजस्ती तान्ने, प्रलोभनमा पारेर आफू आबद्ध होटलमा लैजाने, होटल र यात्रु दुवैबाट कमिसन असुल्ने तथा अभद्र व्यवहार गर्ने जस्ता गतिविधि गर्दै आएका थिए ।
प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि विमानस्थल क्षेत्रमा निगरानी थप कडा बनाइएको जनाएको छ ।