काठमाडौं | जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव रामकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
आम निर्वाचन २०८२ मा पार्टीले एक सिट पनि जित्न नसकी शून्य परिणाम प्राप्त गरेपछि नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएको जनाएका छन् ।
शर्माले जारी गरेको विज्ञप्तिमा मधेस आन्दोलनको जगमा स्थापित ५२ सिटको पार्टी अहिले शून्यमा खुम्चिनु “सामूहिक अयोग्यता र अक्षमताको प्रमाण” भएको उल्लेख गरेका छन् । उनले जनताको जनादेश स्वीकार गर्दै नैतिक आधारमा पदत्याग गरेको बताएका छन् ।
उनले निर्वाचनमा बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई पुराना दलहरूको कुशासन, भ्रष्टाचार र बेथितिविरुद्ध जनताको अभिव्यक्त जनमतका रूपमा व्याख्या गरेका छन् ।
शर्माले आफूलाई जिम्मेवारी दिने पार्टी अध्यक्ष उपेन्द्र यादवप्रति आभार व्यक्त गर्दै भविष्यमा संगठन सुदृढीकरणका लागि शुभकामना समेत दिएका छन् ।
उनको राजीनामासँगै जसपा नेपालभित्र आगामी रणनीति र नेतृत्व संरचनाबारे थप छलफल हुने अपेक्षा गरिएको छ ।