गृह मन्त्रालयले प्रशासनिक संरचनामा फेरबदल गर्दै सात जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।
सरुवा हुनेमा चार सहसचिव र तीन उपसचिव रहेका छन् । मन्त्रालयको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई संखुवासभामा सरुवा गरिएको छ । यस्तै, बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापालाई पर्साको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ ।
त्यसैगरी, सहसचिवहरू प्रकाश पौडेल, डा. डिजन भट्टराई, खडानन्द अधिकारी र सुमन घिमिरेको समेत जिम्मेवारी हेरफेर गरिएको छ । प्रकाश पौडेललाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गरिएको छ भने डा. डिजन भट्टराईलाई बैतडीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
खडानन्द अधिकारीलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ भने सुमन घिमिरेलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैबीच, जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजु प्रसादलाई इलामको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।