अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत विदेश पठाउने र विदेशबाट प्राप्त गर्ने कुरियर सेवा उपलब्ध हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनमा हुलाक सेवा विभागले विभिन्न निकायहरूसँगको समन्वयमा सेवा थप सहज बनाएको जनाएको छ ।
विभागका अनुसार हुलाकमार्फत हुने कुरियर सेवाका लागि अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोग गरिनेछ । यस व्यवस्थाले विदेशबाट आयात गरिएका वा विदेश पठाइने मालवस्तुको जाँच–पास छिटो, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ ।
यो प्रणाली हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नागरिक उड्डयन प्राधिकरणबीचको समन्वयमा लागू गरिएको हो । विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार लामो प्रयासपछि मन्त्रालयको निर्देशनमा यो कार्यान्वयन भएको हो ।
अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुलाक कुरियरका लागि छुट्टै (डेडिकेटेड) जाँच–पास प्रणाली स्थापना गरिनेछ । सार्वजनिक बिदाका दिन पनि हुलाक कार्यालयबाट सेवा सञ्चालन हुनेछ ।
यसअघि गोश्वारा हुलाक कार्यालय डिल्लीबजार खुले पनि भन्सार र बैंक बन्द हुँदा सेवा प्रभावकारी हुन सकेको थिएन । अन्तरनिकाय समन्वय अभावका कारण आएको गुनासोपछि मन्त्रालयले सुधार प्रक्रिया अघि बढाएको हो ।
गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार २०० भन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी र बुक पोस्ट लगायत वस्तु विदेशबाट प्राप्त भएका थिए । निर्यात भएका यस्ता वस्तुको संख्या ११ हजार ७ सय हाराहारी थियो । विभागले हुलाकमार्फत हुने कुरियर सेवाको माग बढ्दै गएको जानकारी दिएको छ ।