महिलाहरूमा पुरुषको तुलनामा टाउको दुखाइ बढी हुने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् । विशेषगरी माइग्रेन जस्तो समस्या महिलामा उल्लेखनीय रूपमा बढी पाइन्छ। न्यूरो सर्जन डा. बिनोद राजभण्डारी का अनुसार अस्पतालमा आउने टाउको दुखाइका बिरामीमध्ये महिलाको संख्या बढी हुने गरेको छ । उनका अनुसार माइग्रेन पूर्ण रूपमा निको नहुने भए पनि औषधि र जीवनशैली सुधारमार्फत नियन्त्रण गर्न सकिन्छ। महिलामा टाउको दुख्नुका प्रमुख कारणहरूमध्ये हर्मोनल परिवर्तन मुख्य हो । महिनावारी, गर्भावस्था र मेनोपजका बेला एस्ट्रोजन हर्मोनको उतारचढावले टाउको दुखाइ बढाउने गर्छ। माइग्रेन महिलामा पुरुषभन्दा करिब तीन गुणा बढी हुने गरेको पाइन्छ ।
यो प्रायः टाउकोको एक भागमा केन्द्रित भएर अचानक सुरु हुने कडा दुखाइ हो। तनाव र मानसिक दबाब पनि टाउको दुखाइको अर्को प्रमुख कारण हो ।
घर र कार्यस्थलको दोहोरो जिम्मेवारीले महिलामा मानसिक तनाव बढ्ने गर्छ । अनिन्द्रा र शारीरिक थकानले पनि टाउको दुखाइलाई थप बढाउँछ। समयमा नसुत्नु, अत्यधिक कामको चाप र आरामको कमीले समस्या गम्भीर बन्न सक्छ। खानपान र जीवनशैली पनि टाउको दुखाइसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । अत्यधिक चिया/कफी, मदिरा सेवन, पानी कम पिउनु तथा जंक फुड सेवनले टाउको दुख्ने सम्भावना बढाउँछ ।
माइग्रेन वंशाणुगत रूपमा पनि सर्न सक्छ र महिलामा यसको प्रभाव बढी देखिन्छ । समयमै ध्यान दिएर, स्वस्थ जीवनशैली अपनाएर र आवश्यक उपचार गर्दा टाउको दुखाइ नियन्त्रण गर्न सकिन्छ ।