श्रम–संस्कृति पार्टीकी समानुपातिक सांसद रुबीकुमारी ठाकुर देशकै कान्छी उपसभामुख बन्ने निश्चित भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने घोषणा गरेसँगै २५ वर्षीया ठाकुरको उपसभामुख पदमा चयन हुने बाटो प्रस्ट भएको हो ।
जेन–जी पुस्ताकी प्रतिनिधि मानिएकी ठाकुर हालको प्रतिनिधि सभाकै कान्छी सदस्य समेत हुन् । नयाँ पुस्ताको उदय र परिवर्तनको सन्देश बोकेको यस निर्णयलाई नेपाली राजनीतिमा नयाँ अध्यायको रूपमा हेरिएको छ ।
साधारण परिवारबाट राष्ट्रिय राजनीतिसम्म
धनुषा जिल्लाको एक सामान्य परिवारमा जन्मिएकी रुबीकुमारीको पारिवारिक पृष्ठभूमि राजनीति भन्दा टाढा थियो । उनका बुबा सोगराथ ठाकुर वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् भने आमा रेणु देवी गृहणी हुन् ।
दुई विघा जमिन अधियाँमा लिएर गरिएको खेतीपाती र विदेशबाट आउने रेमिट्यान्सकै भरमा परिवार चल्दै आएको छ ।
चार बहिनी र दुई भाइको जिम्मेवारी बोकेकी रुबीले संघर्षकै बीच आफ्नो अध्ययन पूरा गरिन् । उनले एसईई उत्तीर्ण गरेपछि धनुषाकै बलरा पोलिटेक्निकबाट इन्जिनियरिङतर्फ तीन वर्षे डिप्लोमा हासिल गरेकी हुन् ।
२० हजारको जागिरबाट संसदसम्म
सांसद बन्नुअघि रुबीकुमारी एक आर्किटेक्चर कन्सल्टेन्सीमा कार्यरत थिइन्, जहाँ उनले मासिक करिब २० हजार रुपैयाँ आम्दानी गर्थिन् । सामान्य जागिर गर्दै जीवन अघि बढाइरहेकी उनी राजनीतिमा आउनु आफैंमा अप्रत्याशित मोड थियो ।
चुनावी अभियानका क्रममा धरानका चर्चित स्वतन्त्र मेयर हर्क साम्पाङ धनुषा पुग्दा रुबीले पहिलोपटक उनलाई भेटेकी थिइन् । साम्पाङको विचार र अभियानबाट प्रभावित भएर उनी श्रम–संस्कृति पार्टीको प्रचारप्रसारमा सक्रिय भइन् ।
यही सक्रियताका कारण पार्टीले उनलाई मधेसी महिला क्लस्टरबाट समानुपातिक सूचीमा समावेश गरेको थियो ।
युवापुस्ताको प्रतिनिधित्व गर्ने अनुहार रूबी
रुबीकुमारी ठाकुरको उपसभामुखमा उदयलाई युवापुस्ताको प्रतिनिधित्व र अवसरको विस्तारको रूपमा हेरिएको छ । राजनीतिमा नयाँ ऊर्जा, पारदर्शिता र सामाजिक समावेशिताको अपेक्षा बढिरहेका बेला उनको भूमिका महत्वपूर्ण रहने विश्लेषकहरू बताउँछन् ।
उनको नियुक्तिसँगै मधेसी महिला, युवापुस्ता र श्रमिक वर्गको आवाज संसदको उच्च तहमा पुग्ने विश्वास गरिएको छ ।
राजनीतिमा नयाँ
रुबीकुमारीको यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, नेपाली राजनीतिमा परिवर्तनको संकेत पनि हो । सामान्य परिवार, सीमित स्रोत र कुनै राजनीतिक पहुँच बिना पनि इच्छाशक्ति र मेहनतले उच्च स्थान हासिल गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन् ।
अब उपसभामुखको जिम्मेवारी सम्हाल्दै उनले संसद सञ्चालनमा निष्पक्षता, प्रभावकारिता र समावेशितालाई अघि बढाउँने सर्वत्र विश्वास बढेको छ ।