राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथले धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यसहित छोटो अवधिमा उत्पादन हुने धानका विभिन्न जातको परीक्षण सुरु गरेको छ ।
कोपिया परियोजनाअन्तर्गत बटेश्वर क्षेत्रमा परीक्षण थालिएको हो । नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक डा. पल्लवी सिंहका अनुसार जलवायु परिवर्तनका कारण खेती प्रणालीमा देखिएका चुनौतीलाई ध्यानमा राख्दै छिटो पाक्ने तथा उच्च उत्पादन दिने धानका जातको खोजी र परीक्षण सुरु गरिएको हो ।
उनका अनुसार परीक्षण सफल भएमा उत्पादन वृद्धि मात्र नभई समयमै बाली भित्र्याउन सकिने भएकाले किसानलाई प्रत्यक्ष लाभ पुग्नेछ । “परीक्षणमा किसानको अनुभव समेट्न बटेश्वरमा धानका बिरुवा रोपिएको हो,” उनले बताइन् ।
यस परीक्षणमा किसानलाई प्रत्यक्ष सहभागी गराइएको छ । सहभागी किसानहरूले आफ्नै खेतमा विभिन्न धानका जात रोपेर तिनको वृद्धि–विकास, उत्पादन क्षमता तथा रोग प्रतिरोधात्मक अवस्थाको अवलोकन गर्नेछन् । उनीहरूले आफ्ना अनुभव, आवश्यकता र प्राथमिकताका आधारमा उत्कृष्ट जात छनोट गर्नेछन् ।
अनुसन्धान कार्यक्रमका सूचना अधिकारी तथा वरिष्ठ प्राविधिक रबेन्द्रप्रसाद साहका अनुसार हालसम्म कम अवधिमा उत्पादन हुने धानमध्ये ‘हर्दिनाथ–१’ जात करिब १०५ दिनमा पाक्ने गर्दछ। यसभन्दा पनि कम समयमा तयार हुने धानको पहिचानका लागि परीक्षण अघि बढाइएको हो ।
उनका अनुसार अनुसन्धान केन्द्रको परिसरका साथै चयन गरिएका किसानका खेतमा पनि विभिन्न धानका जात रोपेर परीक्षण भइरहेको छ । यसले प्रयोगशालामा सीमित अनुसन्धानलाई खेतसम्म विस्तार गर्दै किसानको व्यवहारिक अनुभवलाई अनुसन्धान प्रक्रियासँग जोड्ने काम गर्नेछ ।
स्थानीय हावापानीअनुकूल, कम पानीमै उत्पादन दिन सक्ने तथा जलवायु परिवर्तनअनुकूल धानका जात पहिचान गर्न यस परीक्षणले सहयोग पुग्ने विश्वास गरिएको छ ।
साहका अनुसार विशेषगरी चैते धानको उत्पादन बढाउन जोड दिइएको छ, जसले वर्षभरि धान उत्पादन प्रणाली सुदृढ बनाउँदै खाद्य सुरक्षामा टेवा पुर्याउने र किसानको आम्दानी वृद्धि गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।