वीरगंजमा यही चैत २८ गते श्री जगन्नाथ रथ यात्रा आयोजना गरिने भएको छ ।
अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) वीरगन्जले तेस्रो पटक “श्री जगन्नाथ रथ यात्रा २०८२” आयोजना गर्न लागेको हो ।
इस्कोनका अनुसार, चैत २८ गते शनिबार दिउँसो १ बजेदेखि गहवा माई मन्दिर अगाडिको पार्कबाट यात्रा सुरु हुनेछ । रथ यात्रा आदर्शनगर, मकालु होटल चोक, पूजन होटल चोक, कैलाश होटल चोक, घडीअर्वा पोखरी तथा गीता मन्दिर रोड हुँदै पुनः माइस्थानस्थित मन्दिर अगाडिकै पार्कमा पुगेर समापन हुनेछ ।
वैदिक परम्पराअनुसार मनाइने श्री जगन्नाथ रथ यात्रा एक पवित्र तथा हर्षोल्लासपूर्ण पर्व हो । यस अवसरमा भगवान् जगन्नाथ, भगवान् बलदेव तथा सुभद्रा महारानीको रथयात्रा निकालिने इस्कोनले जनाएको छ ।
समाजमा एकता, भक्ति र समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागिएको रथ यात्रामा ४ देखि ६ हजार श्रद्धालु भक्तजनहरूको सहभागिता रहने अनुमान गरिएको छ ।
इस्कोन वीरगन्जका मुक्तिनाथ साहका अनुसार कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन आवश्यक तयारी तीव्र पारिएको छ ।