सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकामा कार्यरत कार्यालय सहयोगीमाथि कुटपिट गरेको आरोपमा उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ अनुमति लिइएको हो ।
प्रहरीका अनुसार, सोमबार बिहान करिब ९ बजेको समयमा नगरपालिकाकाे कार्यालय मै हाजिरी गरिरहेका ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवलाई मेयर यादवले गालीगलौज गर्दै लात र मुक्काले कुटपिट गरेका थिए । घटनामा घाइते भएका रामशरण यादवको शरीरका विभिन्न भागमा चोट लागेको छ भने हड्डीसमेत भाँचिएको छ । उनको हाल विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार, घटनाको उजुरी परेपछि आवश्यक अनुसन्धान गर्दै मेयर यादवविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । “पक्राउ पुर्जी जारी भएसँगै उनको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ
उक्त घटनामा संलग्न रहेको आरोपमा नगरपालिकाकै कर्मचारी रोहित मेस्तरलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । उनीमाथि पनि सोही कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीय तहमा कार्यरत कर्मचारीबीच त्रासको वातावरण सिर्जना भएको छ भने कर्मचारी संगठनहरूले दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
यसैबीच, केही स्थानीय बासिन्दाले सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्तो व्यवहार हुनु गम्भीर विषय भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
मेयर यादव सम्पर्कविहीन रहेका छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेकाे जनाएको छ ।