संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयुक्त विद्यार्थी संगठनले उक्त निर्णयविरुद्ध पहिलो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित कार्यक्रमअनुसार चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रिया गरिनेछ । त्यस्तै चैत ३० गतेदेखि वैशाख ४ गतेसम्म देशभरका क्याम्पसमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ । वैशाख ५ गते पूर्व विद्यार्थी नेता तथा सांसदहरूसँग अन्तरक्रिया गरिनेछ ।
यसैगरी वैशाख ७ गतेदेखि ९ गतेसम्म क्याम्पसमा ब्यानर प्रदर्शन, पर्चा वितरण तथा हस्ताक्षर संकलन गरिनेछ । वैशाख ११ गते विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापन पत्र बुझाइनेछ भने वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने कार्यक्रम तय गरिएको छ । वैशाख १५ गते काठमाडौंको बालुवाटारसहित देशभर कापी–कलमसहित प्रदर्शन गरिने संयुक्त विद्यार्थी संगठनले जनाएको छ ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सरकारले अधिनायकवादी नीति अपनाए स्वीकार्य नहुने चेतावनी दिएका छन् । त्यस्तै अनेरास्ववियु अध्यक्ष दिपक धामीले सरकारले निषेधको नीति अपनाउँदै जनताको आवाज दबाउने प्रयास गरेको भन्दै आपत्ति जनाएका छन् । उनले दलीय विचारसँग आवद्ध विद्यार्थी संगठन खारेज गर्ने प्रयास अस्वीकार्य हुने भन्दै कडा आन्दोलनको चेतावनीसमेत दिएका छन् ।
संयुक्त विद्यार्थी संगठनले विश्वविद्यालयमा प्रविधि एकीकरणको नियमन र अनुगमन गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयले गठन गरेको उच्चस्तरीय आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने, सबै विश्वविद्यालयमा परीक्षा परिणाम प्रकाशन तथा मौका परीक्षा तीन महिनाभित्र सञ्चालन गर्नुपर्ने, महँगी नियन्त्रण गरी राहत प्याकेज घोषणा गर्नुपर्ने तथा भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि स्वतन्त्र उच्चस्तरीय आयोग गठन गर्नुपर्ने लगायतका मागसमेत अघि सारेका छन् ।