कालिकामाई गाउँपालिकामा करारका कर्मचारीहरूको जारी आन्दोलनलाई नेकपा एमाले, नेपाली कांग्रेस र गाउँपालिकाको उपाध्यक्ष सहित बहुमत परिषद सदस्यले समर्थन जनाएका छन् ।
बिगत ९ वर्षदेखि काम गर्दै आएका स्वास्थ्य संस्थाका कर्मचारीहरूको म्याद थप नगरेकोमा एमाले र कांग्रेसले विरोध जनाउँदै २४ घण्टा भित्र म्याद थप नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेकपा एमालेकाे कालिकामाई पालिका कमिटी सचिव बिजयसाह गोढ द्वारा हस्ताक्षरित ध्यानाकर्षणमा पालिका अध्यक्षको अदुर्दशिता र अनुभवहिन कामले पालिकाको परिषद,बजेट तर्जुमा तथा जनताले पाउने सेवासुविधा प्रभावित हुनुको साथै पालिका भित्र भष्टाचार र बेथिति मौलाएको उल्लेख छ ।
पुराना कर्मचारी हटाएर नयाँ भर्ना गर्ने योजनाको एमालेले भर्त्सना गरेको छ । यसैगरि नेपाली कांग्रेसको कालिकामाई पालिका समितिका सचिव रामानन्द ठाकुर द्वारा हस्ताक्षरित विज्ञप्तिमा कर्मचारीहरूको मांग पूरा नगरेमा पार्टी बाट जनदबाब सृजनागरि साउन २९ गते देखि पालिकाको सम्पुर्ण कामकाज ठप्प गर्ने उल्लेख गरिएको छ । नेकपा एमाले र कांग्रेसका स्थानीय नेताहरूले पालिका अध्यक्षको गलत नियत र भष्टाचारका कारण कर्मचारी हटाउन खोजिएको आरोप लगाएका छन् । पालिकाको उपमेयर राजमती देवि,वडा नम्बर ३ का अध्यक्ष संजय पटेल,वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसिया,वडा नम्बर ४ का अध्यक्ष संजय साह लगायत बहुमत परिषद सदस्यले हस्ताक्षर गरि कर्मचारीहरूको म्याद थप गर्न आग्रह गरेका छन ।
८ औं दिनको धर्नामा एमाले र कांग्रेसका नेताहरूले भौतिकरूपमा एकबद्धता जनाएका छन् ।