लामो समयदेखि औद्योगिक तथा अन्य फोहोरका कारण प्रदूषित हुँदै आएको सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि पर्साका राजनीतिक दल, स्थानीय तह, प्रशासन र सरोकारवालाहरूले संयुक्त पहल गर्ने निर्णय गरेका छन्। नदीमा प्रशोधन नगरी रासायनिकयुक्त पानी मिसाउने उद्योगलाई रोक लगाउँदै आफ्नै फोहोर प्रशोधन केन्द्र २४ सै घण्टा सञ्चालन गर्नुपर्ने निर्णय गरिएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सिर्सिया नदीको फोहोर व्यवस्थापन र प्रदूषण नियन्त्रणका लागि पाँचबुँदे निर्णय गरेको हो। बैठकमा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको विशेष उपस्थिति थियो।
बैठकले यसअघि सिर्सिया नदी प्रदूषण नियन्त्रणका सम्बन्धमा भएका निर्णय र कामकारबाहीको समीक्षा गर्दै औद्योगिक करिडोरका सबै उद्योगले आफ्नो उद्योगबाट निस्कने रासायनिकयुक्त पानी प्रशोधन नगरी नदीमा मिसाउन पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। प्रत्येक उद्योगले अनिवार्य रूपमा आफ्नो बहिर्गमन प्रशोधन केन्द्र चौबीसै घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने निर्णय गरिएको छ।
व्यक्तिगत रूपमा प्रशोधन केन्द्र राख्न नसक्ने साना तथा मझौला उद्योगका लागि उद्योग वाणिज्य संघको अगुवाइ र सरकारी अनुदानमा साझा प्रशोधन केन्द्र निर्माण गर्ने तयारी अघि बढाइने भएको छ। यसका लागि उपयुक्त जग्गा पहिचान गरी सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने निर्णय गरिएको छ।