युट्युबमार्फत प्रधानमन्त्री बालेन ( बालेन्द्र ) शाहलगायतका नेताहरूलाई लक्षित गर्दै अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी युट्युबर रोशन पोखरेल रहेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ‘Hades’ नामक युट्युब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका पोखरेलमाथि साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिए ।