पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरपालिकाले उक्त क्षेत्रमा निःशुल्क विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ ।
पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटर भित्र रहेको विमानस्थलबाट बाहिरिने यात्रुसँग ट्याक्सी व्यवसायीले चर्को शुल्क लिने गरेको गुनासो आएपछि महानगरले यो पहल थालेको हो । सार्वजनिक यातायातको अभाव र महँगो ट्याक्सी सेवाका कारण यात्रुहरू समस्यामा परिरहेका थिए ।
अब विमानस्थलदेखि अमरसिंह चोकसम्म सुविधा सम्पन्न विद्युतीय सटल बस सञ्चालन गरिनेछ । महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार नयाँ वर्षदेखि सुरु हुने यो सेवा असार मसान्तसम्म निःशुल्क उपलब्ध हुनेछ ।
“विमानस्थल प्रशासनसँग समन्वय गरी उडान भएका समयमा बस सञ्चालन गरिनेछ,” उहाँले भन्नुभयो, “सुरुआतमा दुई वटा बसले सेवा दिनेछन् र असारपछि भने न्यूनतम शुल्क लिइनेछ ।”
महानगरपालिकाको पहलमा विभिन्न वित्तीय संस्था तथा मोटर सञ्चालन कम्पनीहरूको साझेदारीमा सेवा सञ्चालन गर्न लागिएको हो। महानगर प्रमुख धनराज आचार्यले यसलाई नयाँ वर्षको उपहारका रूपमा प्रस्तुत गर्दै यसले यात्रुलाई विमानस्थल र मुख्य बजारबीच सहज आवतजावतमा सहयोग गर्ने बताउनुभयो ।
असारसम्म सेवा सञ्चालनका लागि साझेदार खोज्ने वा महानगर आफैंले खर्च व्यहोर्ने तयारी गरिएको छ। महानगरका अनुसार एक विद्युतीय बसको मूल्य करिब एक करोड ३० लाख रुपैयाँ रहेको छ । साथै, जोखिम न्यूनीकरण केन्द्र पनि मङ्गलबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।