राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलकी प्रमुख सचेतक खुश्बु ओलीले आफूविरुद्ध सुनियोजित दुष्प्रचार र चरित्रहत्याको गतिविधि भैइरहेको भन्दै साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी छन् ।
सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटकजस्ता माध्यमबाट योजनाबद्धरुपमा आफू विरुद्ध व्यक्तिगत तथा सार्वजनिक जीवनमा क्षति गर्ने उद्देश्यबाट आधारहीन सामग्री प्रसारण भएको भन्दै कारबाहीको माग गर्दै सोमबार उजुरी दर्ता गराएकी हुन्।
‘यस विषयमा मैले प्रारम्भिक चरणमै केही सम्बन्धित व्यक्तिहरूलाई सचेत गराउँदै यस्तो गतिविधि रोक्न स्पष्ट भनेको पनि थिएँ। तर, उक्त चेतावनीलाई गम्भीरतापूर्वक नलिई निरन्तर रूपमा दुष्प्रचार जारी राखिएपछि बाध्य भई आज साइबर ब्यूरोमा कानुनी प्रक्रिया अघि बढाएको हुँ।’ उनले भनिन् ।
राप्रपा सांसद ओलीले कसैको जीवनमा क्षति पुग्नेगरी घृणा फैलाएर त्यसबाट लाभ कमाउने प्रवृति समाजका लागि खतरा भएको बताउँदै यस्ता विषयलाई सामान्यीकरण नगर्न उनले आह्वान समेत गरेकी छन् ।