सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनस्थित सुकुम्बासी दलित बस्तीमा सोमबार राति भएको आगलागीबाट प्रभावित तीन परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
बृजेश्वर प्रसाद चौघरीको विशेष पहलमा नाम नखुलाउने एक सहयोगी व्यक्तिको सहयोगमा पीडित परिवारलाई मंगलबार राहत उपलब्ध गराइएको हो । संजय राम, मन्जय राम, मन्तुरा देवी र भगतिनलगायत तीन परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गरिएको जनाइएको छ ।
प्रत्येक परिवारलाई एक बोरा चामल, एक बोरा आटा, एक बोरा आलु, एक प्याकेट प्याजसहित दाल, मसला, नुन, खाने तेल, चना, मटर, साबुनलगायत सामग्री प्रदान गरिएको चौघरीले जानकारी दिए ।
आगलागीबाट पीडितहरूको फुसको झुपडी पूर्ण रूपमा जलेर नष्ट भएको छ । घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा तथा अन्नपातसमेत सबै नष्ट भएको स्थानीयले बताएका छन् ।
यस विपद्को समयमा दलित अभियन्ता मनोज रामले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । हाल पीडित परिवारलाई थप सहयोगको आवश्यकता रहेको भन्दै स्थानीयले सहयोगका लागि सबैसँग अपिल गरेका छन् ।