सिमरा–काठमाडौं हवाई मार्गमा पछिल्ला दिनमा यात्रुको चाप उल्लेखनीय रूपमा घटेको छ । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै टिकट दर बढ्दा यात्रु संख्या तीव्र रूपमा घटेको नागरिक उड्डयन कार्यालय सिमराले जनाएको छ ।
पहिले दैनिक ५ देखि ६ सय यात्रु आवतजावत गर्ने यस रुटमा अहिले करिब २ सय यात्रुमा सीमित भएको तथ्यांक छ ।
भाडा करिब १ हजार १ सय रुपैयाँले बढेपछि सिमराबाट काठमाडौं जान ५ हजार ५५० रुपैयाँ र काठमाडौंबाट सिमरा आउन ५ हजार १५० रुपैयाँ तिर्नुपर्ने भएको छ ।
यात्रु अभावका कारण उडानहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । करिब १५ मिनेटको उडानमा समेत जहाजहरू आधाभन्दा कम यात्रुसहित उडिरहेका छन् । काठमाडौंबाट सिमरा आउने उडानमा करिब २५ जना र फर्किने क्रममा झन्डै ३० जना मात्र यात्रु हुने गरेका छन् ।
बुद्ध एयर सिमरा कार्यालयका प्रमुख सुरेश रेग्मीका अनुसार पछिल्ला दुई सातामा उडानको औसत अकुपेन्सी ५० प्रतिशतमा झरेको छ । उनका अनुसार ‘जेनजी आन्दोलन’पछि यात्रु घट्न थालेको र पछिल्लो भाडा वृद्धिले मध्यम वर्गीय यात्रु अझ प्रभावित भएका हुन् ।
सिमरा विमानस्थल मुख्यतः पथलैया – वीरगञ्ज औद्योगिक करिडोरसँग जोडिएका व्यापारिक तथा राजनीतिक यात्राका लागि प्रयोग हुँदै आएको थियो । तर नयाँ सरकार गठनपछि राजनीतिक गतिविधि घट्दा यात्रु संख्या पनि घटेको देखिएको छ ।
यता, सडकमार्गको सहज विकल्पले पनि हवाई यात्रामा कमी ल्याएको छ । सिमरा–काठमाडौं दूरी सडकमार्गबाट करिब चार घण्टामै पार गर्न सकिने भएकाले धेरै यात्रुहरूले स्थलमार्ग रोज्न थालेका छन् ।
हाल सिमरा विमानस्थलबाट बुद्ध एयरले मात्रै एटीआर–७२ जहाजमार्फत दैनिक पाँच उडान सञ्चालन गरिरहेको छ भने यति एयर, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र नेपाल एयरलाइन्सले सेवा स्थगित गरिसकेका छन् ।