पर्सा जिल्लामा नयाँ नागरिकता प्राप्त गर्ने सेवाग्राहीका लागि राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरण सोही स्थानबाट संकलन गर्ने नयाँ व्यवस्था सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबारदेखि यो सेवा औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो । नयाँ व्यवस्थासँगै अब सेवाग्राहीले नागरिकता प्राप्त गरेपछि राष्ट्रिय परिचयपत्र बनाउनका लागि पुनः अर्को कार्यालय धाउनु पर्ने, लाइन बस्नुपर्ने तथा छुट्टै प्रक्रिया झेल्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
यसअघि नागरिकता लिएपछि राष्ट्रिय परिचयपत्र बनाउन अलग्गै फारम भर्ने, बायोमेट्रिक दिनुपर्ने र पटक–पटक कार्यालय धाउनुपर्ने समस्या रहेको थियो । तर अब एकद्वार प्रणालीमार्फत सोही स्थानमा सबै प्रक्रिया पूरा गर्न सकिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सेवाग्राहीलाई सहज बनाउन नयाँ नागरिकता वितरणसँगै बायोमेट्रिक संकलन सेवा पनि एकै ठाउँमा सुरु गरिएको हो ।
उनका अनुसार हाल दैनिक औसत ५० देखि ६० जनाले नयाँ नागरिकता लिने गरेका छन् । सोही संख्यालाई ध्यानमा राख्दै छुट्टै बायोमेट्रिक स्टेशन स्थापना गरी सेवा प्रभावकारी बनाइएको हो ।
प्रशासन कार्यालयले यो व्यवस्था तत्कालका लागि नयाँ नागरिकता लिने सेवाग्राहीमा मात्र लागू गरिएको जनाएको छ । आगामी दिनमा प्रतिलिपि नागरिकता लिनेहरूका लागि समेत यो सेवा विस्तार गर्ने तयारी भइरहेको छ ।
नयाँ प्रणाली लागू भएपछि समय बचत हुनुका साथै सेवाग्राहीको भीड व्यवस्थापन र प्रशासनिक प्रक्रियामा पारदर्शिता बढ्ने विश्वास गरिएको छ । स्थानीय सेवाग्राहीहरूले पनि यो व्यवस्थालाई सकारात्मक रूपमा लिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा डिजिटल सेवा विस्तार गर्दै नागरिकलाई छिटो, सहज र झन्झटमुक्त सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।