महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलमा एक नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा २० वर्षीया रिना देवी राय रहेकी छन् ।
मंगलबार राति रिनाको मृत्यु भएपछि उनका घरपरिवारले अचानक बिरामी भएर मृत्यु भएको जानकारी दिएका थिए । तर, माइती पक्षले दाइजोको कारण हत्या भएको दाबी गरेको छ । प्रहरीले रिनाको शव घरको बरन्डामा फेला पारेको थियो ।
रिनाका पति रोहनकुमार राउतले राति अचानक बिरामी भएर अस्पतालमा उपचारका लागि लगिएको र मृत्यु भएपछि शव घर ल्याएको बताएका छन् । तर, माइती पक्षले रिनाको मुखबाट रगत बगेको र घाँटीमा निलडाम देखिएको कारण हत्या भएको आशंका गरेका छन् । मृतक रिनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । माइती पक्षले पति रोहनसहित चारजनाविरुद्ध कर्तव्यज्यानको मुद्दा दर्ता गराएको छ ।
प्रहरीले घटना विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।