कमला नदीमा पुल निर्माणको माग गर्दै सिरहाका जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, र अगुवाहरू जनकपुरमा आमरण अनशनमा बसेका छन् ।
गत मंगलबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि अनशनरत आन्दोलनकारीको समर्थनमा सिरहामा राजमार्गमा प्रदर्शन भइरहेको छ । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमास्थित कमला नदीमा पुल निर्माणको लागी प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री सतीशकुमार सिंहको पुतला दहन गर्दै विरोध जारी राखेका छन् ।
संघर्ष समितिका संयोजक प्रवीण यादवका अनुसार, पुलको सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने र यसलाई 'वारपारको संघर्ष' का रूपमा लिएको छ । मुख्यमन्त्री सिंहले आफू पुल निर्माणको लागि चिन्तित भए पनि आन्दोलनबाट दुःखित भएको प्रतिक्रिया दिएका छन् ।
कमला पुलको निर्माण संघीय सरकारको जिम्मा रहेको उनले स्पष्ट पारेका छन् ।