यातायात व्यवस्था विभागले इन्धनको मूल्यवृद्धिलाई मुख्य कारण देखाउँदै सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ ।
विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक सवारी साधन तथा पहाडी र तराई क्षेत्रमा चल्ने मालवाहक सवारी साधनमा समान रूपमा ५ प्रतिशतका दरले भाडा वृद्धि गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वैशाख १२ गते दिएको सहमतिका आधारमा गरिएको यो निर्णय बुधबारदेखि नै देशभर लागू भएको छ । पछिल्लो समय डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ पुगेपछि छोटो अवधिमै दोस्रो पटक भाडा समायोजन गर्नुपरेको विभागले जनाएको छ ।
यसअघि पनि गत चैत २५ गते सार्वजनिक यातायातको भाडा बढाइएको थियो। लगातारको मूल्यवृद्धिले सर्वसाधारणमा थप आर्थिक भार पर्ने देखिएको छ ।
यद्यपि, पेट्रोलियम पदार्थको मूल्यसँग प्रत्यक्ष सम्बन्ध नहुने भएकाले विद्युतीय सवारी साधनमा भने पुरानै भाडादर कायम रहनेछ । विभागले विद्युतीय सवारीले भाडा बढाउन नपाउने स्पष्ट पारेको छ ।