बदलिँदो मौसमसँगै हावाहुरी, आगलागी र चट्याङका घटनामा वृद्धि भएपछि नेपाल विद्युत प्राधिकरण अन्तर्गत कलैया वितरण केन्द्रले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
केन्द्रले जारी गरेको सार्वजनिक अपीलमा संवेदनशील अवस्थामा पनि विद्युत सेवा निरन्तर सुचारु राख्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै सम्भावित जोखिम न्यूनीकरण र जनधनको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।
प्राधिकरणले विद्युतीय संरचना जस्तै पोल, ट्रान्सफर्मर र स्टे–वायर नजिक फोहोर वा झारपात नजलाउन आग्रह गरेको छ । जङ्गल वा घर वरपर लाग्ने आगलागीले विद्युत आपूर्ति अवरुद्ध पार्नुका साथै ठूलो दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिइएको छ । त्यस्तै, हावाहुरीका कारण चुँडिएका तार वा ढलेका पोल नछुन र त्यस्ता घटनाको तुरुन्त जानकारी नजिकको नो–लाइट कार्यालयमा दिन अनुरोध गरिएको छ । चट्याङ परेको समयमा टेलिभिजन, फ्रिज, कम्प्युटरजस्ता विद्युतीय उपकरणहरूको प्लग निकालेर सुरक्षित राख्न पनि सुझाव दिइएको छ ।
विद्युत लाइन नजिक रहेका रुखका हाँगाबिगाले सर्ट सर्किट भई आगलागी हुन सक्ने भएकाले यस्ता जोखिम देखिएमा तत्काल प्राधिकरणलाई जानकारी गराउन र लाइन वरपर रुखविरुवा नियन्त्रणमा राख्न आग्रह गरिएको छ । प्राविधिक कारणले विद्युत सेवा अवरुद्ध भएमा केही समय धैर्य राख्न र मर्मत कार्यमा खटिएका कर्मचारीलाई सहयोग गर्न पनि आग्रह गरिएको छ ।
कलैया वितरण केन्द्रले प्राकृतिक विपद्का बेला सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले सबै उपभोक्तालाई सजग रहन अपील गरेको छ ।