वीरगंज महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन अभियान सुरु गरेको छ । मसाज सेन्टरको आवरणमा अवाञ्छित तथा गैरकानुनी गतिविधि भइरहेको भन्ने गुनासो बढेपछि महानगरले मंगलबारदेखि विशेष अभियान अघि बढाएको हो ।
नगर प्रहरी इन्चार्ज हरि भुषाल का अनुसार भन्सार क्षेत्रबाट सुरु गरिएको अनुगमन क्रमशः महानगरका सबै ३२ वडामा विस्तार गरिनेछ । अनुगमनका लागि नेपाल प्रहरी सँगको समन्वयमा नगर प्रहरी परिचालन गरिएको छ ।
अनुगमन टोलीले सञ्चालक तथा कर्मचारीको विवरण, नाबालिका प्रयोग भए/नभएको, सेवा सञ्चालनको प्रकृति, आचारसंहिताको पालना, दर्ता तथा अनुमति, कर भुक्तानीको अवस्था लगायतका पक्षमा सूक्ष्म जाँच गरिरहेको जनाएको छ । विशेषगरी, सेवा क्षेत्रको नाममा यौनजन्य क्रियाकलाप वा मानव तस्करीसँग सम्बन्धित गतिविधि भए/नभएकोतर्फ पनि ध्यान केन्द्रित गरिएको छ ।
नगर प्रहरीका अनुसार हालसम्म अनुगमन गरिएका दुई स्पा सेन्टरमा नाबालिका प्रयोग भएको प्रारम्भिक रूपमा भेटिएको छ । यस्ता कार्यमा संलग्नलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ। साथै, नाबालिकाको संरक्षण र उद्धारका लागि आवश्यक समन्वय पनि अघि बढाइएको जनाइएको छ ।
अहिलेसम्म करिब एक दर्जनभन्दा बढी मसाज तथा स्पा सेन्टरहरूको स्थलगत अनुगमन सम्पन्न भइसकेको छ । प्रारम्भिक अनुगमनका क्रममा केही स्थानमा आवश्यक कागजात अपूर्ण रहेको, अनुमति बिना सञ्चालन भएको तथा मापदण्डअनुसार सेवा सञ्चालन नभएको पाइएको नगर प्रहरी इन्चार्ज भुषालले जानकारी दिनुभयो ।
महानगरपालिकाले मापदण्ड नपुर्याउने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यवसायमाथि दर्ता खारेज, जरिवाना तथा आवश्यक परे बन्द गराउनेसम्मको कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ । साथै, व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन नियमित अनुगमनलाई निरन्तरता दिइने बताइएको छ ।
महानगरले नागरिकलाई पनि शंकास्पद गतिविधिबारे जानकारी गराउन आग्रह गर्दै सुरक्षित र सभ्य सेवा वातावरण निर्माणमा सहकार्य गर्न अपिल गरेको छ ।





