पर्सामा चालु आर्थिक वर्ष २०८२/०८३ को चैत महिनामा मात्रै घरेलु हिंसासम्बन्धी ६७ वटा उजुरी दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दर्ता भएका उजुरीमध्ये ६४ वटा घटनामा मिलापत्रमार्फत समाधान गरिएको प्रहरीले जनाएकाे छ छ । प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार सबैभन्दा धेरै उजुरी वीरगञ्ज महानगरपालिकाबाट दर्ता भएका छन् ।
महानगर क्षेत्रबाट मात्रै ४६ वटा घरेलु हिंसाका उजुरी परेका थिए, जसमध्ये ४३ वटा मिलापत्रमार्फत टुंग्याइएको उनले जानकारी दिएका छन् । उनका अनुसार ठूलो भूगोल र बढी जनसंख्या भएका कारण अन्य स्थानीय तहको तुलनामा यहाँ उजुरीको संख्या बढी देखिएको हो ।
त्यसैगरी, बहुदरमाई नगरपालिकाबाट ६ वटा, पोखरिया नगरपालिकाबाट २ वटा तथा पर्सागढी नगरपालिकाबाट १ वटा उजुरी दर्ता भएर समाधान गरिएको पर्सा प्रहरीले जनाएकाे छ । यसैगरी सखुवा प्रसौनी गाउँपालिकाबाट ५ वटा, बिन्दबासिनी गाउँपालिकाबाट २ वटा र जगरनाथपुर गाउँपालिकाबाट १ वटा उजुरी दर्ता भएको रेकर्डमा देखिन्छ ।
यसैगरी, कालिकामाई गाउँपालिकाबाट २ वटा तथा जिराभवानी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकाबाट एक–एक वटा उजुरी दर्ता भएका छन् । भने, पकाहामैनपुर गाउँपालिका, ठोरी गाउँपालिका र छिपहरमाई गाउँपालिकाबाट भने चैत महिनाभर कुनै उजुरी नपरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरेलु हिंसाका अधिकांश घटनामा परिवार तथा समाजका अगुवाको उपस्थितिमा मिलापत्र गराउने गरिएको छ ।