पर्सा जिल्लामा रगतको अभाव हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले आकस्मिक रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
गर्मी मौसम सुरु भएसँगै वीरगञ्ज क्षेत्रमा रगतको कमी देखिन थालेपछि शनिबार स्थानीय क्लासिक बेन्क्वेटमा आयोजित कार्यक्रममा ७ महिला सहित १११ जनाले रक्तदान गरेका छन् । रक्त सञ्चार केन्द्र वीरगञ्ज का अनुसार उक्त रक्तदान कार्यक्रमले आपूर्तिमा देखिएको दबाब केही हदसम्म घटाउने अपेक्षा गरिएको छ । कार्यक्रम शिक्षाविद् मार्टिन मुक्तानको संयोजनमा सम्पन्न भएको हो। कार्यक्रममा राम लामा, तुल्सा पौडेल, दिलिप कुर्मी, सुदिश प्रजापती, बिन्दा कुमारी अन्सारी, राजकुमार सहनी, शेख मजीद, सुनिल कुमार चौधरीलगायतले रक्तदान गरेका थिए ।
रास्वपा पर्साका अध्यक्ष तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, शैक्षिक सहिद मुकुन्द खनाल प्रतिष्ठान पर्साकी सभापति मुना खनाल, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, रास्वपा पर्साका उपाध्यक्ष तुल्सा पौडेल, सचिव सुदिस प्रजापति, वीरगञ्ज महानगर अध्यक्ष अमन आलम, सचिव गौतम श्रेष्ठ र युवराज केसरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सांसद पन्तले वीरगञ्जमा रगत अभाव भएको जानकारी पाएपछि छोटो समयमै कार्यक्रम आयोजना गरिएको बताए । उनले रक्तदानले कसैलाई हानी नहुने तर जीवन बचाउने भएकाले नियमित रूपमा रक्तदान गर्न सबैलाई आग्रह गरे ।
त्यसैगरी, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति पटेलले वीरगञ्जस्थित रक्त सञ्चार केन्द्रमा रगत अभाव हुँदा नारायणी अस्पतालसहित विभिन्न अस्पतालमा उपचार सेवा प्रभावित भएको बताए। उनले यस्तो अवस्थामा गरिएको रक्तदान कार्यक्रमले मानवीय सेवामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा रेडक्रस, वीरगञ्ज नर्सिङ क्याम्पस र हिमाल इन्स्टिच्युट नर्सिङ कलेजका स्वयंसेवक टोलीले रक्तदान व्यवस्थापन तथा सहजीकरणमा सहयोग गरेका थिए ।