पर्साको पर्सागढी नगरपालिका–९ एकटाङ्गास्थित तिलावे पुलको निर्माण कार्य पाँचौँ पटक म्याद थपपछि पुनः सुरु भएको छ । सम्झौता भएको करिब १५ वर्षसम्म अलपत्र अवस्थामा रहेको यो पुल अब पुनः बाँकी निर्माण प्रक्रिया बल्ल शुरू भएकाे हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको नयाँ सरकार बनेपछि ठेक्का तोडिने डरका कारण निर्माण कम्पनी सक्रिय बनेको छ । यसअघि पटक–पटक म्याद थपिँदै आएको पुल १३ वर्षअघि नै सम्पन्न हुनुपर्ने भए पनि विभिन्न बहानामा ढिलाइ हुँदै आएको थियो ।
६१ प्रतिशत मात्र काम सम्पन्न
ठेक्का नम्बर CDR 07/650/067/68–81 अन्तर्गत ३ स्पान र ७५ मिटर लामो यो पुलको जिम्मा पप्पु कन्स्ट्रक्सन, वीरगंजले पाएको हो । कम्पनीले २०६८ साउन २७ गते सम्झौता गरी २०७० साउन २७ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर पाँच पटकसम्म म्याद थपिँदा पनि हालसम्म केवल ६१ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।
लामो समयसम्म निर्माण अलपत्र हुँदा स्थानीय बासिन्दा वर्षायाममा ठूलो समस्या भोग्न बाध्य भएका छन् । विशेषगरी पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, धोबनी गाउँपालिका लगायतकाे दर्जनौँ गाउँ वर्षामा यस सडकबाट सम्पर्कबाट विच्छेद रहँदै आएको छ ।
सांसद कानुको पहलपछि काम अघि बढ्यो, समयमा सकाउने ठेक्केदारकाे दाबी
पर्सा क्षेत्र नम्बर २ का सांसद सुशिल कुमार कानुको पहलपछि सडक डिभिजन कार्यालय हेटौँडा र निर्माण कम्पनीबीच समन्वय गरी पुनः निर्माण सुरु गरिएको छ । सांसद कानुले पटक–पटक अनुगमन गर्दै निर्माण ढिलाइप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।
अनुगमनका क्रममा उनले समय मै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन् ।
स्थानीयवासीले वर्षौँदेखि अलपत्र रहेको पुल छिटो सम्पन्न गर्न माग गर्दै आएका छन् । उनीहरूका अनुसार पुल निर्माण भएपछि ग्रामीण क्षेत्रको आवागमन सहज हुने, कृषि उत्पादन बजारसम्म पुर्याउन सजिलो हुने र आपतकालीन सेवामा पनि जाेखिमपुर्ण टाढाकाे बाटाे जानु नपर्ने बताए ।










