बारामा यस वर्ष गहुँ उत्पादनमा उल्लेख्य कमी आएको छ ।
कृषि ज्ञान केन्द्र बाराका अनुसार प्रतिकूल मौसमका कारण उत्पादनमा १७ हजार ९८० मेट्रिकटनले गिरावट आएको हो । आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर करिब २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँखेती गरिएको थियो । प्रतिहेक्टर ३.१ मेट्रिकटन उत्पादन हुने अपेक्षा गरिए पनि मौसम अनुकूल नहुँदा उत्पादकत्व घटेर २.४८ मेट्रिकटनमा सीमित भएको केन्द्रले जनाएको छ । यसका कारण चालु आवमा कुल ७१ हजार ९२ मेट्रिकटन मात्र गहुँ उत्पादन भएको छ।
यद्यपि उत्पादन घटे पनि गहुँको गुणस्तर भने राम्रो रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । उत्पादित गहुँ स्तरीय भएकाले कलैया लगायत आसपासका बजारमा प्रतिक्विन्टल करिब ४ हजार रुपैयाँका दरले बिक्री भइरहेको कृषि अर्थविज्ञ गणेश महराले जानकारी दिएका छन् ।
गत आर्थिक वर्ष २०८१/८२ मा भने जिल्लामा ९६ हजार ६२० मेट्रिकटन गहुँ उत्पादन भएको थियो, जसको कुल बजार मूल्य करिब ४ अर्ब २ करोड ५६ लाख ६० हजार रुपैयाँ बराबर रहेको थियो ।