नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक शृंखलाको अन्तिम खेलका लागि टिकट मूल्य घटाएको छ ।
क्यानले सोमबार जारी गरेको सूचनाअनुसार भोलि मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेलका लागि अब प्रतिटिकट २०० रुपैयाँ मात्र कायम गरिएको छ । यसअघि उक्त खेलको टिकट मूल्य ४०० रुपैयाँ तोकिएको थियो। क्यानका अनुसार समर्थकहरूको उपस्थिति बढाउने र घरेलु टोलीलाई थप हौसला प्रदान गर्ने उद्देश्यले टिकट मूल्य घटाउने निर्णय गरिएको हो ।
लिग–२ मा हालसम्म २३ खेल खेलिसकेको नेपाल १६ अंकका साथ सातौँ स्थानमा रहेको छ । त्यस्तै, क्यानले आगामी मे १२ देखि सुरु हुने नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको अर्को त्रिकोणात्मक शृंखलाका लागि पनि प्रतिटिकट २०० रुपैयाँ नै कायम गरिएको जनाएको छ ।