गादीमाई साझेदारी वन व्यवस्थापन समितिले चालू आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भइरहेका योजनाहरूको अनुगमन गर्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।
समितिका अध्यक्ष सहरुम राउत गद्दीले राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमण हुनुका साथै डिभिजन वन कार्यालय पर्साद्वारा निर्माण गरिएको पोखरीसमेत अतिक्रमणमा परेको आरोप लगाएका छन् । उनले वन शक्तिमाईको स्थानदेखि बसन्तपुर सब–डिभिजन वन कार्यालयसम्मको सडक मर्मतमा प्रयोग गरिएको नदिजन्य पदार्थ उत्खननमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि सो विषयको यथार्थ बुझ्न अनुगमन गरिएको जानकारी दिए ।
अनुगमनका क्रममा अध्यक्ष गद्दीले सडक मर्मतमा प्रयोग भएको सामग्री नजिकको सुगीभार खोलाबाट उत्खनन नभएको दाबी गरे। साथै, उत्खननका लागि एक्साभेटर प्रयोग नगरिएको पनि उनले स्पष्ट पारे ।
नदिजन्य पदार्थ आपूर्तिसम्बन्धी विषयमा जिराभवानी र पटेर्वासुगौली क्षेत्रमा ठेक्का लिइएको भलुवाही खोलाबाट करिब २०० ट्रेलर ग्राभेल ल्याइएको गोलु कन्स्ट्रक्सन, हरिहरपुरका प्रतिनिधिले जानकारी दिए । उनका अनुसार २५ ट्रेलर ग्राभेलको राजस्व तिरेको रसिद प्रस्तुत गरिएको छ भने बाँकी १७५ ट्रेलरको रसिद घरमै रहेको दाबी गरिएको छ ।
सम्मेलनमा योजनाका प्राविधिक इन्जिनियर सदाम हुसेनले उक्त आयोजनाको लागत १० लाख रुपैयाँ रहेको जानकारी दिए । उनका अनुसार ६ इन्च गहिराइ, १० फिट चौडाइ र ७०० मिटर लम्बाइमा ग्राभेल बिछ्याउने इस्टिमेट रहेको थियो। तर, स्थलगत मापन गर्दा ७५० मिटर क्षेत्रमा ग्राभेल गरिएको पाइएको उनले बताए ।