मधेश प्रदेशकै प्रमुख स्वास्थ्य संस्था मानिएको नारायणी अस्पताल मा विगत तीन वर्षदेखि मनोचिकित्सक नहुँदा मानसिक स्वास्थ्यसम्बन्धी सेवा प्रभावहीन बनेको छ ।
केन्द्रीय अस्पतालको मान्यता प्राप्त यस अस्पतालमा दैनिक २५ देखि ३० जनासम्म मानसिक समस्या भएका बिरामी परामर्शका लागि आउने गरे पनि विशेषज्ञ अभावका कारण उनीहरूले गुणस्तरीय सेवा पाउन सकेका छैनन् ।
अस्पतालका सूचना अधिकृत डा. उदयनारायण सिंहका अनुसार यसअघि करारमा नियुक्त एकजना मनोचिकित्सकले एक वर्ष सेवा दिएपछि पद खाली भएको हो । “तीन वर्षदेखि अस्पताल मनोचिकित्सकविहीन अवस्थामा सञ्चालन भइरहेको छ,” उनले भने, “यसले बिरामीलाई ठूलो असर परेको छ ।”
मनोचिकित्सक अभावका कारण मानसिक रोग, लागूऔषध दुरुपयोग, एचआइभी/एड्स तथा अन्य मनोसम्बन्धी समस्याबाट पीडित बिरामीहरूलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । हाल अधिकांश बिरामीलाई नेशनल मेडिकल कलेज पठाइँदै आएको छ, जसका कारण उनीहरूलाई अतिरिक्त आर्थिक भार र समयको नोक्सानी व्यहोर्नु परेको गुनासो बढ्दै गएको छ ।
स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालाहरूका अनुसार तराई क्षेत्रमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या तीव्र रूपमा बढ्दो क्रममा रहेको छ । तर सोही अनुसार सेवा विस्तार हुन नसक्दा अवस्था थप जटिल बन्दै गएको उनीहरूको भनाइ छ ।
विराटनगर र भरतपुरका केन्द्रीय अस्पतालहरूमा चारभन्दा बढी मनोचिकित्सक कार्यरत रहँदा समान स्तरको नारायणी अस्पतालमा एकजना पनि विशेषज्ञ नहुनु विडम्बनापूर्ण भएको उनीहरू बताउँछन् ।
यसैबीच, अस्पतालमा डायलासिस सेवा सञ्चालनमा रहे पनि नेफ्रोलोजिस्टको अभावले सेवा प्रभावित भएको छ । अस्पतालमा रहेका १५ वटा डायलासिस मेशिनमार्फत दैनिक करिब १०० जना मिर्गौला रोगीले सेवा लिइरहेका छन् । तर विशेषज्ञ चिकित्सक नहुँदा उपचारको गुणस्तरमा असर परेको बताइएको छ ।
डा. सिंहका अनुसार करारमा कार्यरत एकजना नेफ्रोलोजिस्ट छ महिना अघि सेवा अवधि सकिएपछि फर्किएका थिए र त्यसयता पद रिक्त रहेको छ । हाल डायलासिस सेवा फिजिसियनहरूको सहायतामा सञ्चालन भइरहेको छ ।
अस्पताल प्रशासनले मनोचिकित्सक र नेफ्रोलोजिस्ट पदपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बन्धित विभागमा पटक–पटक पत्राचार गर्दै आएको भए पनि हालसम्म कुनै ठोस पहल नभएको गुनासो गरिएको छ ।
स्थानीयवासी तथा बिरामी पक्षले विशेषज्ञ चिकित्सकको शीघ्र व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् । उनीहरूका अनुसार आवश्यक जनशक्ति अभावकै कारण मधेश प्रदेशका नागरिकहरू गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका छन् ।
अस्पतालमा विशेषज्ञ सेवा विस्तार नगरेसम्म बिरामीलाई अन्य शहर धाउनुपर्ने बाध्यता कायमै रहने देखिन्छ ।