पर्सा प्रहरीले जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका–२ निवासी २२ वर्षीया बेगम वि.क.लाई सोमबार वीरगंजबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार वि.क. विरुद्ध अदालतले जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा चार लाख रुपैयाँ जरिवाना र आठ वर्ष कैद सजाय सुनाएको थियो । लामो समयदेखि फरार रहेका उनलाई विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका–४ स्थित विर्ता चोकबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले संकास्पद अवस्थामा सडकमा हिँडिरहेका उनलाई पहिचान गरी पक्राउ गरेको जनाएको छ । यसअघि जेनजी आन्दोलनका क्रममा वीरगंजस्थित बाल सुधार गृहबाट फरार रहेका वि.क.लाई पुनः नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बाल सुधार गृह वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाएको र अन्य फरार अभियुक्तको खोजी कार्य समेत जारी रहेको जनाएको छ ।