उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले वीरगंज चिनी कारखानालाई योजनाबद्ध रूपमा ‘हत्या’ गरिएको आरोप लगाएका छन् ।
मंगलबार उद्योग मन्त्री र मन्त्रालयका सचिवलाई ध्यानाकर्षण गराउँदै सभापति अन्सारीले वीरगंज चिनी कारखाना बन्द हुनुमा गम्भीर चलखेल भएको दाबी गरे । उनले कारखानालाई योजनाबद्ध रूपमा समाप्त पारिएको टिप्पणी गर्दै “कारखानाको हत्या भएको हो, यसका हत्याराहरू अहिले पनि खुलेआम बजारमा घुमिरहेका छन्,” भने ।
उनका अनुसार कारखाना बन्द हुँदा त्यहाँ कार्यरत कर्मचारी तथा उखु किसानहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने निजी चिनी उद्योग सञ्चालन गर्नेहरू भने लाभान्वित भइरहेका छन्। उनले दोषी पहिचान गरी पीडितलाई न्याय दिनुपर्ने मागसमेत गरे ।
सभापति अन्सारीले चिनी उद्योगमा आर्थिक पक्षभन्दा राजनीतिक चलखेल बढी हुने गरेको उल्लेख गर्दै उद्योगीहरूले व्यापारीसँग अग्रिम रकम लिने तर किसानलाई उखुको भुक्तानी ढिलो तथा उधारोमा दिन बाध्य पार्ने अवस्था रहेको बताए । नेपालमा चिनी उत्पादन कम हुनुका साथै गुणस्तरसमेत कमजोर रहेको उनको भनाइ थियो ।
यसैगरी उनले औद्योगिक प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गरे । आफ्नो क्षेत्रमा क्यान्सर र स्ट्रोकका बिरामी बढ्दै गएको बताउँदै बिहान ४ देखि ६ बजेसम्मको समयमा हावाको अवस्था अत्यन्तै प्रदूषित रहने उनले दाबी गरे। “हावाको रङ कालो हुन्छ, यसलाई सफा बनाउन मन्त्रालयले तत्काल पहल गर्नुपर्छ,” उनले भने ।
अन्सारीले कतिपय उद्योगहरूले सार्वजनिक जग्गा तथा नदी क्षेत्रसमेत अतिक्रमण गरी संरचना बनाएको भन्दै आपत्ति जनाए। स्थानीय प्रशासन र प्रहरी प्रभावकारी रूपमा काम गर्न असफल भएको उनको आरोप थियो। उनले मन्त्रालयले विशेष टोली परिचालन गरी अतिक्रमित जग्गा फिर्ता ल्याउनुपर्ने माग गरे ।
त्यसैगरी, भन्सार नाकाहरूमा हुने ढिलासुस्ती र कर्मचारीको मनोमानी अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिए। मुख्य नाकाहरूमा एक्स-रे स्क्यानर जडान गरी छिटो जाँच प्रक्रिया लागू गर्नुपर्ने सुझाव दिँदै उनले चोरी पैठारी नियन्त्रण हुने र व्यवसायीले अनावश्यक झन्झट भोग्न नपर्ने बताए ।
सभापति अन्सारीले उठाइएका समस्याहरू समाधानका लागि मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने र संसदीय समितिले आवश्यक सहयोग गर्ने स्पष्ट पारे ।