जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मधेश प्रदेशसहित देशका अधिकांश प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय छ । यसले गर्दा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश का पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली देखिएको छ भने तराईका केही भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । यी प्रदेशका केही स्थानसहित अन्य भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, रातिको समयमा पनि कोशी प्रदेशसहित देशका पहाडी र हिमाली क्षेत्रमा बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने पूर्वानुमान छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।
विभागले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण दैनिक जनजीवन, कृषि तथा यातायात क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।