पर्साको पटेर्वासुगौली गाउँपालिका–२ स्थित ममता विद्यासदन एकेडेमी मा गएराति योजनाबद्ध रूपमा चोरी भएको छ । अज्ञात समूहले विद्यालयको ताल्चा फुटाएर नगद तथा महत्त्वपूर्ण शैक्षिक सामग्री चोरी गरेको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयका प्रतिनिधि शिवकुमार चापागाईं का अनुसार चोरहरूले अत्यन्त सावधानीपूर्वक घटना घटाएका थिए । विद्यालय परिसरमा प्रवेश गर्नुअघि उनीहरूले सिसिटिभी क्यामेराको तार काट्नुका साथै विद्युत्को मुख्य मिटरसमेत बन्द गरेका थिए, ताकि उनीहरूको गतिविधि क्यामेरामा कैद नहोस् । त्यसपछि ताल्चा फुटाएर भित्र रहेका सामग्री चोरी गरिएको उनले बताए ।
घटनापछि विद्यालय प्रशासनले भिडियो सन्देशमार्फत चोरीबारे जानकारी गराउँदै चोरी भएका सामान वा शङ्कास्पद व्यक्तिबारे कुनै जानकारी भए तत्काल विद्यालय वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणसँग अपिल गरेको छ ।
विद्यालयमा यसअघि पनि चोरीका घटना भइसकेका छन् । गत वर्ष यही विद्यालयबाट कम्प्युटर, डेस्कटप, प्रिन्टर तथा पेनड्राइभ चोरी भएका थिए । पटक–पटक एउटै शिक्षण संस्थामा यस्ता घटना दोहोरिन थालेपछि विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूमा असुरक्षाको भावना बढेको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।