राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको जनाएको छ ।
बोर्डले नतिजा सार्वजनिक हुनुअघि नै परीक्षार्थी तथा अभिभावकहरूको सहजताका लागि नतिजा प्राप्त गर्न सकिने विभिन्न डिजिटल माध्यमहरूको सूची सार्वजनिक गरेको हो ।
इन्टरनेटको पहुँच नभएका वा तत्काल नतिजा जान्न चाहने परीक्षार्थीहरूका लागि एसएमएस (SMS) र आईभीआर (IVR) सेवा उपलब्ध गराइएको छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरेर आईभीआर सेवा प्रयोग गर्न सकिनेछ भने एसएमएसमार्फत पनि नतिजा थाहा पाउन सकिने व्यवस्था गरिएको छ ।
यसका साथै जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ सर्टकोडमा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।
मार्कसिटसहितको विस्तृत नतिजा हेर्नका लागि बोर्डले यस वर्ष सरकारी तथा निजी क्षेत्रका गरी १४ वटा वेबसाइटलाई आधिकारिक अनुमति दिएको छ । परीक्षार्थीहरूले परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक पोर्टल see.gov.np, राष्ट्रिय परीक्षा बोर्डको neb.gov.np तथा नेपाल टेलिकमको see.ntc.net.np बाट आफ्नो नतिजा हेर्न सक्नेछन् ।
यसबाहेक कान्तिपुर पब्लिकेसन्स, इडियु सञ्जाल, खल्ती एप, निमा एजुकेशन, फोनिक्स एजुकेशन र इन्द्रेणी टाइम्सलगायतका पोर्टलमार्फत पनि नतिजा रुजु गर्न सकिने व्यवस्था मिलाइएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित भएपछि सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रमपूर्ण सूचनाबाट बच्न तथा आधिकारिक माध्यमबाट मात्र नतिजा रुजु गर्न परीक्षार्थी र अभिभावकलाई अनुरोध गरेको छ ।
यस वर्ष नियमित तथा ग्रेडवृद्धि दुवैतर्फका परीक्षार्थीहरूले उल्लेखित माध्यममार्फत सहज रूपमा नतिजा प्राप्त गर्न सक्ने बोर्डले जनाएको छ ।
बोर्डले केही दिनभित्रै औपचारिक रूपमा नतिजा सार्वजनिक गर्ने गरी प्राविधिक तयारीलाई तीव्र बनाएको छ ।