वीरगंजको अदालत रोडस्थित नीलकण्ठ अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि अस्पताल प्रशासनमाथि चिकित्सकीय लापरवाहीको आरोप लागेको छ ।
मृतक वीरगंज महानगरपालिका–३१, चोर्नी निवासी ४७ वर्षीया प्रमिला देवी साह रहेको परिवारजनले बताएका छन् । परिवार स्रोतका अनुसार शुक्रबार बिहान करिब ४:४५ बजे पेट दुख्ने समस्यापछि प्रमिला देवीलाई उपचारका लागि नीलकण्ठ अस्पताल लगिएको थियो । परिवारजनका अनुसार अस्पताल पुग्दासम्म उनी सामान्य अवस्थामा थिइन् र आफैं हिँडेर अस्पतालभित्र प्रवेश गरेकी थिइन् ।
आफन्तका अनुसार त्यस समयमा अस्पतालमा वरिष्ठ चिकित्सक अनुपस्थित रहेका थिए भने त्यहाँ रहेका मेडिकल अफिसरले सामान्य जाँचपछि औषधि लेखिदिएका थिए । त्यसपछि एक नर्सले बिरामीलाई इन्जेक्सन लगाएको र त्यसको केही समयमै स्वास्थ्य अवस्था एकाएक बिग्रिएको परिवारको आरोप छ । परिवारजनका अनुसार प्रमिला देवीले केहीबेरपछि बान्ता गरेकी थिइन् र त्यसको केही समयमै उनको मृत्यु भएको हो । साथै, केनुला लगाउँदा पनि सही प्रक्रिया नअपनाइएको दाबी गरिएको छ । घटनासम्बन्धी सम्पूर्ण विवरण अस्पतालको सीसीटीभी फुटेजमा देखिएको परिवारजनले बताएका छन् ।
घटनापछि आक्रोशित परिवारजन तथा स्थानीयवासीले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका थिए । स्थिति तनावपूर्ण बनेपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले अस्पताल पुगेर स्थिति नियन्त्रणमा लिएको थियो । मृतकका परिवारजनले अस्पताल प्रशासनले उपचारमा लापरवाही भएको स्वीकार गरिसकेको दाबी गरेका छन् । उनीहरूले निष्पक्ष छानबिन, पोस्टमार्टम तथा चिकित्सकीय परीक्षण नगरी पर्सा प्रहरीको मिलेमतोमा ४ लाख रुपैयाँ क्षतिपूर्ति दिएर घटनालाई मिलापत्रमार्फत दबाउने प्रयास गरिएको आरोपसमेत लगाएका छन् ।
घटनापछि स्थानीयवासी तथा अधिकारकर्मीहरूले घटनाको स्वतन्त्र छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् । साथै निजी अस्पतालहरूको सेवा प्रवाह, चिकित्सकीय उत्तरदायित्व तथा स्वास्थ्य क्षेत्रमा देखिएको अव्यवस्था र गैरजिम्मेवारीप्रति समेत गम्भीर प्रश्न उठेको बताएका छन् ।
यस घटनाबारे अस्पताल प्रशासन तथा प्रहरीको औपचारिक धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ ।