प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरूले बाढीपहिरो, डुबान, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा सुकुम्बासी व्यवस्थापनलगायत विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद राजेशकुमार चौधरीले रौतहट जिल्ला चारैतिर नदी–नालाले घेरिएको कारण हरेक वर्ष सदरमुकाम डुबानमा पर्ने र करोडौँको क्षति हुने गरेको उल्लेख गर्दै समयमै रोकथामका उपाय अपनाउन सरकारसँग माग गरे ।
सांसद राधिका रम्तेलले सुर्खेतकी १६ वर्षीया एनिसा विकको बलात्कारपछि हत्या तथा सिन्धुलीका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएको घटनामा सरकार गम्भीर बन्नुपर्ने बताइन् । उनले दलित तथा कमजोर वर्गका नागरिकको सुरक्षा सुनिश्चित गर्न राज्य असफल भएको आरोप लगाइन् ।
सांसद रामविनोद यादवले धनुषा क्षेत्र नं. २ मा कमला नदीको कटान र डुबानले स्थानीयवासी वर्षेनि पीडित हुने गरेको भन्दै शिक्षा र स्वास्थ्य सेवाको अभावतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । सांसद रिगला यादवले तयारीबिनै सुकुम्बासी बस्ती हटाउने कार्यप्रति आपत्ति जनाउँदै सुकुम्बासीलाई उचित आवासको सुनिश्चितता गर्न माग गरिन् ।
त्यस्तै, सांसद रिमा विश्वकर्माले सिन्धुलीका श्रीकृष्ण विश्वकर्माको प्रहरी हिरासतमा मृत्यु भएको १८ दिन बितिसक्दा पनि न्याय नपाएको भन्दै हिरासतभित्र हुने मृत्यु घटनालाई आत्महत्या भन्दै पन्छाउन नमिल्ने बताइन् ।
सांसद रुपेस रञ्जितले भक्तपुरमा ख्वप विश्वविद्यालय र वीर अस्पताल निर्माणको काम अघि बढाउन तथा मापदण्डविपरीत सञ्चालन भएका इँटाभट्टा तत्काल बन्द गर्न सरकारसँग माग गरे । सांसद रुविना आचार्यले आगामी आर्थिक वर्षको बजेट आवश्यकताका आधारमा विनियोजन गर्नुपर्ने बताउँदै वर्षायाममा हुने बाढीपहिरो र डुबानबाट बच्न पूर्वतयारीमा जोड दिइन् ।
सांसद रेखाकुमारी यादवले सुकुम्बासी बस्ती हटाउनुभन्दा पहिले राज्यले उचित व्यवस्थापन गर्नुपर्ने धारणा राखिन् । सांसद विदुषी राणाले उद्योग र उत्पादन क्षेत्रलाई प्राथमिकता दिन सडक तथा ढुवानी व्यवस्थापन सुधार गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
सांसद बिना गुरुङले पोखरास्थित फेवाताल संरक्षणसँगै लालपुर्जा भएका व्यक्तिलाई मुआब्जा दिन तथा ताल क्षेत्रमा वर्षौँदेखि माछापालन गर्दै आएका जलारी समुदायको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरिन् ।