रमेश प्रसाईं ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक विरुद्ध हालसम्म मुद्दा दर्ता नगरिएको विषयमा सरकारसँग प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद प्रसाईंले सहिदप्रतिको सम्मान केवल औपचारिक भाषणबाट नभई सरकारको व्यवहारबाट प्रमाणित हुनुपर्ने बताए ।
उनले जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका ओली र तत्कालीन गृहमन्त्री लेखकलाई नयाँ सरकार गठनपछि पक्राउ गरी बयान लिइए पनि हालसम्म मुद्दा दर्ता नगरिनु आश्चर्यजनक भएको टिप्पणी गरे ।
“सहिदप्रतिको श्रद्धाञ्जलि मुखले औपचारिकता निभाएर होइन, सरकारले गर्ने व्यवहारबाट पुष्टि हुनुपर्छ,” प्रसाईंले भने, “जेनजी आन्दोलन र नरसंहारका अभियुक्तद्वय तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुद्दा बुझाउन सरकारलाई केले अड्कायो ? प्रमाण पुगेन कि प्राथमिकता पुगेन ?”
उनले विगतमा बनेका मल्लिक आयोग, रायमाझी आयोग र लाल आयोगका प्रतिवेदनजस्तै अहिले पनि यो विषय थन्काउने प्रयास भइरहेको हो कि भन्दै सरकारसँग जवाफ माग गरे ।