संघीय संसदमा सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले दिने भएका छन् ।
प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले सांसदहरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको जवाफ दिने तयारी गरिएको जनाइएको छ । जवाफपछि आजै सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी समेत गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल ले गत वैशाख २८ गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिने, छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्रीका तर्फबाट जवाफ प्रस्तुत गरिने तथा सांसदहरूबाट प्राप्त संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गरिने कार्यसूची रहेको छ । त्यसपछि नीति तथा कार्यक्रमलाई पनि निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ ।
यसअघि हिजो बसेको बैठकमा विभिन्न दलका नेताहरूले सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राखेका थिए ।