रौतहटको कटहरिया बजारस्थित एक निजी विद्यालयमा कक्षा ५ मा अध्ययनरत तीन जना विद्यार्थी एकैपटक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा कटहरिया नगरपालिका–५ निवासी सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकील अन्सारी, किरायसिन भन्ने सुरेन्द्र साह सोनारका १४ वर्षीय छोरा कुन्दन साह सोनार तथा भरत दास सरभंगका १२ वर्षीय छोरा पवनकुमार दास सरभंग रहेका छन् । अभिभावकका अनुसार तीनै जना विद्यार्थी गत सोमबार दिउँसो विद्यालयबाट घर फर्किएका थिए । घर फर्किएपछि खेल्न बाहिर निस्केका उनीहरू त्यसयता सम्पर्कविहीन भएका हुन् । परिवारले आफन्त, साथीभाइ तथा सम्भावित स्थानमा खोजी गर्दा कुनै जानकारी नपाएपछि सोही दिन बेलुका इलाका प्रहरी कार्यालय कटहरियामा फोटोसहित निवेदन दिएका थिए ।
अभिभावकमध्ये एकका अनुसार बेपत्ता भएका सकील अन्सारीसँग केही हजार रुपैयाँ रहेको र उनीहरूले भारतको राजधानी दिल्ली जाने योजना बनाएको भन्ने अपुष्ट जानकारी साथीहरूबाट आएको छ । अन्य दुई विद्यार्थीसँग भने पैसा नभएको बताइएको छ । इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगरले निवेदन प्राप्त भएपछि तीनै जनाको तस्वीर र हुलिया सम्बन्धित निकायमा पठाइसकिएको जानकारी दिएका छन् ।
प्रहरीका अनुसार नेपालभरका प्रहरी इकाइमार्फत उनीहरूको खोजी भइरहेको छ । साथै भारतीय प्रहरीलाई समेत जानकारी गराउन जिल्ला प्रहरी कार्यालय रौतहटमार्फत पत्राचार गर्न अभिभावकलाई सुझाव दिइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको बताउँदै यो अपहरण हो वा बालबालिका आफैं घुम्न निस्किएका हुन् भन्ने विषय तत्काल यकिन गर्न नसकिने जनाएको छ। प्रहरीले बेपत्ता बालकहरूबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा प्रहरीको नम्बर १०० तथा ९८५५०४२०९५ मा खबर गर्न अनुरोध गरेको छ ।
प्रहरीका अनुसार कटहरिया बजारबाट एकैपटक तीन जना विद्यार्थी सम्पर्कविहीन भएको सम्भवतः यो पहिलो घटना हो ।