नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ ।
सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत पर्ने गरी व्यक्त गरिएका अभिव्यक्तिहरू संसदीय अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।
सभामुख अर्यालले दिएको रूलिङअनुसार संसद्मा अभिव्यक्ति दिने क्रममा मर्यादाविपरीत, आपत्तिजनक तथा असंसदीय शब्द प्रयोग गरिएको ठहर गर्दै ती शब्दहरू रेकर्डबाट हटाइएको हो ।
प्रतिनिधिसभा नियमावलीको नियम २१ मा सांसदहरूले छलफलमा भाग लिँदा पालना गर्नुपर्ने आचारसंहिता स्पष्ट गरिएको छ । नियमअनुसार सदस्यले सभामुखको ध्यानाकर्षण गर्न उठ्नुपर्ने, सभामुखले नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने व्यवस्था छ ।
त्यस्तै, ‘पदअनुकूल आचरण नगरेको’ भन्ने प्रस्तावमाथिको छलफलबाहेक सभामुखको आचरणको आलोचना गर्न नपाइने व्यवस्था पनि नियमावलीमा उल्लेख छ ।
संविधानको धारा १०५ अनुसार संसद्मा बहसका क्रममा बन्देज गरिएका विषयहरूमा छलफल गर्न नपाइने व्यवस्था छ । साथै, अशिष्ट, अश्लील, अपमानजनक वा सार्वजनिक शिष्टाचारविपरीतका शब्द प्रयोग गर्न नपाइने, कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने अभिव्यक्ति दिन नपाइने प्रावधान समेत स्पष्ट गरिएको छ ।
नियमावलीमा सांसदहरूले आफ्नो बोल्ने अधिकारलाई सदनको कार्यमा बाधा पुर्याउने उद्देश्यले दुरुपयोग गर्न नहुने व्यवस्था पनि उल्लेख गरिएको छ । सभामुखको यो रूलिङपछि बादलले प्रयोग गरेका विवादित अभिव्यक्तिहरू संसदीय अभिलेखबाट हटाइएको संसद् सचिवालयले जनाएको छ ।