प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएको विषयले आजको बैठकमा तनावपूर्ण अवस्था सिर्जना गरेको छ ।
शून्य समयमा सांसदहरूले आफ्ना धारणा राखिसकेपछि सभामुख डोलप्रसाद अर्याल ले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लाई समय दिएका थिए ।
त्यसपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी लगायत दलका सांसदहरूले विरोध जनाउँदै प्रधानमन्त्री अनुपस्थित रहेर छलफल अघि बढाउन नहुने तर्क गरेका थिए । उनीहरूले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रम टेबुल गर्नुपर्ने र जवाफ दिनुपर्ने भन्दै आपत्ति जनाएका हुन् ।
नेपाली कांग्रेसका सचेतक निश्कल राई, एमालेका ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही लगायत सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएको विषयमा प्रश्न उठाएका थिए । सोही क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भने प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै बैठक छाडेर बाहिरिएका थिए ।
विवादबीच सभामुख अर्यालले प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई बोल्ने समय दिएका थिए । सो क्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सांसद अर्जुननरसिंह केसी दुवै जना उठेका थिए ।
अर्जुननरसिंह केसीले २०४८ सालदेखि संसद्मा रहेको अनुभव सुनाउँदै नियमावलीअनुसार अहिलेको अवस्थामा प्रधानमन्त्रीले अनिवार्य रूपमा छलफलमा उपस्थित हुन नपर्ने भए पनि नीति तथा कार्यक्रमको जवाफ दिने बेला भने प्रधानमन्त्री उपस्थित हुनैपर्ने धारणा राखे । उनले प्रधानमन्त्री अनुपस्थित रहेमा भविष्यमा छलफल बहिष्कार गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिए ।
संसदभित्र प्रधानमन्त्रीको अनुपस्थिति र कार्यप्रणालीबारे भएको यो बहसले बैठक केही समय तनावपूर्ण बनेको थियो ।