नेपालमा हान्टा भाइरस सङ्क्रमणको जोखिम अत्यन्त न्यून रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
केन्द्रका निर्देशक डा. अनुज भट्टचनका अनुसार आन्द्रा महासागर क्षेत्रमा सञ्चालनमा रहेको एक पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण देखिए पनि नेपालमा यसको तत्काल जोखिम अत्यन्त न्यून रहेको छ ।
उनका अनुसार हाल देखिएको भाइरस “एन्डिज भाइरस” समूहसँग सम्बन्धित हो, जुन विशेष प्रकारका मुसामा मात्र पाइने भएकाले नेपालमा यसको उपस्थिति सामान्यतया नदेखिने बताइएको छ । उनले सो पानीजहाजमा कुनै पनि नेपाली नागरिकले यात्रा गरेको पुष्टि नभएको जानकारी दिँदै हालसम्म नेपालमा कुनै व्यक्ति वा क्षेत्रमा हान्टा भाइरस सङ्क्रमण नदेखिएको स्पष्ट पारे ।
स्वास्थ्य निकायका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय हवाई मार्ग तथा सीमा नाकामा निगरानी र स्वास्थ्य सतर्कता बढाइएको छ । साथै, सम्भावित संक्रमित देखिएमा तत्काल उपचार तथा व्यवस्थापनका लागि देशका अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ ।
हान्टा भाइरस के हो ?
हान्टा भाइरस एक दुर्लभ भाइरल रोग हो, जुन मुख्यतया सङ्क्रमित मुसाको पिसाब, दिसा वा र्याल तथा ती दूषित सतहसँग सम्पर्कमा आउँदा मानिसमा सर्छ । वैज्ञानिक अध्ययनअनुसार मानिसबाट मानिसमा यसको सर्ने सम्भावना अत्यन्त सीमित मात्रामा हुन्छ र सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र देखिन सक्छ ।
बच्ने उपाय
विशेषज्ञहरूले घर तथा वरपर सरसफाइमा ध्यान दिन, मुसा प्रवेश गर्ने सम्भावित स्थान बन्द गर्न, मुसाको फोहोर सफा गर्दा मास्क र पञ्जा प्रयोग गर्न तथा नियमित रूपमा साबुनपानीले हात धुने बानी बसाल्न सुझाव दिएका छन् । ज्वरो, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जान चिकित्सकहरूले आग्रह गरेका छन् ।