सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित वनरझुला गाउँकी एक महिला मृत अवस्थामा फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ ।
स्थानीय छोटु भनिने वीरेन्द्र रायकी पत्नी अनिता देवी राय बुधबार सोही क्षेत्रको ‘नौ किलोमिटर’ नामक स्थान नजिक कोशी नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् ।
सप्तरी प्रहरीले जनाए अनुसार शव सडेगलेको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार मृतकको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटिएको छ । प्रारम्भिक अनुसन्धानमा ढुंगा प्रहार गरी हत्या गरिएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।
अनिता गत बुधबार रातिदेखि सम्पर्कविहीन भएकी थिइन् । सो रात गाउँमा छिमेकीको विवाह समारोह भइरहेका कारण धेरैजसो स्थानीय जन्तीमा व्यस्त थिए । परिवारका अनुसार उनी घरमै एक्लै थिइन् । घटनास्थलमा घरको आँगनमा रगतसमेत भेटिएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।
मृतकका पति वीरेन्द्र राय वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन् । उनीहरूका दुई छोरीमध्ये जेठीको विवाह भइसकेको छ भने कान्छी छोरी १३ वर्षकी रहेको बताइएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र वास्तविक तथ्यहरू अझै खुल्न बाँकी रहेको जनाएको छ ।