बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २९ जना सवारी चालक कारबाहीमा परेका छन् । कारबाहीबाट उठेकाे जरिवानाबाट राज्यकोषमा रु चार लाख १७ हजार राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरेर सवारी चलाउने ५९ जना चालकलाई कारबाही गरेको छ । यस्तै, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १ सय १९ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १ सय ३२ जना तथा तीव्र गतिमा सवारी चलाउने २०८ जना चालक पनि कारबाहीमा परेका छन् ।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ५७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ९४ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९५ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १ सय २६ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ ।
अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार १ सय ३९ जना चालकलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही गरेको जनाएको छ ।
ट्राफिक प्रहरीले उपत्यकामा सवारी अनुशासन कायम गर्न नियमित अनुगमन तथा कारबाहीलाई थप प्रभावकारी बनाएको जनाएको छ ।