मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने व्यवस्था हुने गरी प्रतिनिधिसभा नियमावली संशोधन गर्न लागिएको छ ।
सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
नयाँ मस्यौदाअनुसार संसदीय विषयगत समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था गरिएको नियम १७८ मा परिवर्तन प्रस्ताव गरिएको छ । उपनियम ४ मा अब विधेयकमाथिको छलफलमा मात्रै मन्त्रीको उपस्थिति अनिवार्य हुने व्यवस्था राखिएको छ । अन्य कार्यसूचीका छलफलमा भने आवश्यकताअनुसार मन्त्रीको उपस्थिति रहनेछ ।
यसअघि लागू रहेको प्रतिनिधिसभा नियमावली २०७९ मा भने समितिका सबै प्रकारका बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुने व्यवस्था थियो । विधेयकमाथिको छलफलदेखि अन्य सबै कार्यसूचीमा समेत मन्त्री उपस्थित हुनुपर्ने प्रावधान थियो ।
मन्त्रीको समय व्यवस्थापनका कारण समितिका बैठक नै प्रभावित हुने अवस्था हटाउन नयाँ व्यवस्था गर्न लागिएको बताइएको छ । रास्वपाका नेताहरूका अनुसार विधेयक छलफलबाहेकका बैठकमा मन्त्री अनिवार्य नहुने व्यवस्था गर्दा समितिको कार्यसम्पादन सहज हुने अपेक्षा गरिएको छ ।
यस संशोधनपछि संसदीय समितिहरूको बैठक सञ्चालन थप प्रभावकारी हुने विश्वास लिइएको छ ।