श्रम संस्कृति पार्टी का सांसदहरूले सोमबार प्रतिनिधिसभा बैठकमा पर्चा प्रदर्शन गर्दै विरोध जनाएका छन् । बैठक सुरु हुनेबित्तिकै उनीहरू सभामुखको आसनअगाडि पुगेर विभिन्न नारासहितका पर्चा देखाएका हुन् ।
केहीबेर प्रदर्शन गरेपछि सांसदहरू आफ्ना आसनमा फर्किएका थिए। त्यसपछि उनीहरूले हातमा बोकेका पर्चा छातिमा टाँसेर विरोध जारी राखेका थिए ।
सांसदहरूले प्रधानमन्त्री बालेन शाह विरुद्ध नाराबाजीसहित प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले बोकेका पर्चामा “प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ”, “प्रश्नदेखि भाग्न पाइँदैन”, “जनमतलाई सम्मान गर”, “संसद छलेर अध्यादेश ल्याउन बन्द गर” तथा “संसदीय जिम्मेवारी बहन गर” लगायतका सन्देश लेखिएका थिए ।
प्रदर्शनपछि सभामुख डिपी अर्याल ले सांसदहरूलाई मर्यादित ढंगले प्रस्तुत हुन निर्देशन दिएका थिए । उनले संसदमा पर्चा देखाएर विरोध गर्ने अभ्यास नरहेको उल्लेख गर्दै सदनको गरिमा कायम राख्न आग्रह गरे ।