मानव सेवा आश्रम र आनी छोइङ ड्रोल्मा फाउन्डेसनको सहकार्यमा सञ्चालित ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८३’ अन्तर्गत मधेश प्रदेशका विभिन्न स्थानबाट ३५ जना सडकआश्रित मानवको उद्धार गरिएको छ ।
आइतबार साँझसम्म सञ्चालन गरिएको उद्धार अभियानमार्फत ती व्यक्तिहरूलाई सुरक्षित रूपमा आश्रममा लगिएको हो ।मानव सेवा आश्रमकी केन्द्रीय महासचिव सुशिला केसीका अनुसार उद्धार गरिएकामध्ये २८ जना पुरुष र ७ जना महिला रहेका छन् । वर्षायाममा सडकपेटीमा कष्टकर जीवन बिताइरहेका व्यक्तिहरूलाई सुरक्षित आवास, उपचार तथा पुनःस्थापनाको व्यवस्था गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।यसैगरी कोशी प्रदेशबाट हालसम्म ४८ जना सडकआश्रित मानवको उद्धार गरिएको छ, जसमा ३६ पुरुष र १२ महिला रहेका छन् । महासचिव केसीले सडक मानवमुक्त देश बनाउने सरकारको अभियानलाई सफल बनाउन आश्रमका अभियान्ताहरू देशव्यापी उद्धार यात्रामा सक्रिय रहेको जानकारी दिनुभयो ।उहाँका अनुसार सडकपेटी, सार्वजनिक स्थल तथा बजार क्षेत्रमा कष्टकर जीवन बिताइरहेका व्यक्तिहरूलाई उद्धार गरी आश्रममा संरक्षण, उपचार र पुनःस्थापनाको व्यवस्था गर्दै आएको छ । वैशाख २७ गते काठमाडौँबाट सुरु गरिएको यो अभियान जेठ २२ गतेसम्म सञ्चालन हुनेछ । मेची पुलमा दीप प्रज्वलन गरी औपचारिक रूपमा सुरु गरिएको यात्रामा २४ जना अभियान्ता सहभागी छन् ।
महासचिव केसीले सडकआश्रित मानव देखिएमा उद्धार कार्यमा सहजीकरणका लागि नजिकको प्रहरी कार्यालय वा आश्रमलाई जानकारी गराइ सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ ।