निजगढ नगरपालिकाले वर्षौंदेखि वन क्षेत्रमा सञ्चालन गर्दै आएको अघोषित डम्पिङ साइटमा अब रोक लगाइएको छ ।
डिभिजन वन कार्यालय, बारा अन्तर्गतको तामागढी सबडिभिजन वन कार्यालयले वन क्षेत्र तथा नदी उकास क्षेत्रमा फोहोर फाल्न नदिन कडाइ थालेको हो ।वन कार्यालयले यसअघि नै नगरपालिकालाई पटक–पटक पत्राचार गर्दै वन क्षेत्र र नदी उकासमा फोहोर नफाल्न निर्देशन दिएको थियो । तर नगरपालिकाले अटेर गर्दै आएको भन्दै अबदेखि फोहोर बोकेर जाने सवारी साधनलाई फिर्ता पठाउन थालिएको वन कार्यालयले जनाएको छ ।नगरपालिकाले बकैया खोलानजिकको वन क्षेत्रमा दैनिक चारदेखि छ टनसम्म फोहोर फाल्दै आएको बताइएको छ । उक्त क्षेत्रमा पटक–पटक आगलागी हुने गरेको र त्यसबाट वातावरणीय प्रदूषण बढ्दै गएको स्थानीयवासीको गुनासो छ ।
फोहोरमा लाग्ने आगोबाट निस्किने धूवाँका कारण आसपासका बस्ती, खेलमैदान तथा अन्य क्षेत्र प्रभावित भएका छन् । चिकित्सकहरूले समेत यस्तो प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोग बढ्न सक्ने चेतावनी दिएका छन् ।
डिभिजन वन कार्यालयले फोहोर व्यवस्थापनको वर्तमान अभ्यास वन तथा वातावरणसम्बन्धी ऐनविपरीत रहेको उल्लेख गर्दै तत्काल उचित र दीर्घकालीन व्यवस्थापन गर्न निजगढ नगरपालिकालाई निर्देशन दिएको छ ।