औद्योगिक तथा व्यापारिक नगरी पर्सामा १४ हजार १ सय ५६ वटा प्रतिष्ठानको आर्थिक गणना सम्पन्न भएको छ ।
तथ्याङ्क समन्वय कार्यालय वीरगंजका अनुसार जिल्लामा लक्ष्य राखिएको २३ हजार ३ सय प्रतिष्ठानमध्ये हालसम्म ६१ प्रतिशत मात्र गणना कार्य सम्पन्न भएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत जिल्ला आर्थिक गणना कार्यालय पर्साले गणना कर्मचारी परिचालन गरी विसं २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्मका लागि जिल्लाका उद्योग, व्यापार व्यवसाय, शैक्षिक प्रतिष्ठान, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था तथा अन्य सेवा प्रदायक निकायहरूमा तथ्याङ्क सङ्कलन गरिरहेका छन् ।
यता पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूले आर्थिक गणनामा अपेक्षाकृत रूपमा सहयोग नगरेको तथ्याङ्क समन्वय कार्यालयका प्रमुख पुस्कर बिजुक्छे गुनासो गरेका छन् । उनका अनुसार वीरगंजका केही प्रतिष्ठान सडक विस्तारका क्रममा प्रभावित भएकाले तथ्याङ्क सङ्कलनमा समस्या देखिएको हाे । “जिल्लामा ६६ जना गणक आर्थिक गणनाका लागि खटिएका छन् तर प्रतिष्ठानहरूले आवश्यक समन्वय गरेर तथ्याङ्क उपलब्ध नगराउँदा तथ्याङ्क सङ्कलनमा समस्या भइरहेको कार्यालय प्रमुख बिजुक्छेले बताए । उनका अनुसार यही जेठ ७ गते समीक्षा बैठक राखेर तथ्याङ्क उपलब्ध नगराउने प्रतिष्ठानको सूची तयार गरी आवश्यक निर्णय लिइने छ ।
यता पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले आर्थिक गणनामा तथ्याङ्क उपलब्ध नगराउने प्रतिष्ठानहरूको सूची पठाउन अनुरोध गरेका छन् । उनका अनुसार सरकारले सुरु गरेको आर्थिक गणनामा सबै औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूले आवश्यक तथ्याङ्क उपलब्ध गराउनुपर्छ । तथ्याङ्क उपलब्ध नगराउने प्रतिष्ठानमाथि कानुनबमोजिम आवश्यक कदम चालिने प्रजिअ भोला दाहालले बताए ।
उनका अनुसार सबै सरोकारवाला निकायलाई आर्थिक गणनामा आवश्यक सहयोग गर्न आग्रह गरेका छाैँ । उपलब्ध गराइने विवरण कर प्रयोजन वा अन्य कुनै निकायमा प्रमाणका रूपमा प्रयोग नहुने र तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य रहने स्पष्ट पारेका छन् । यस गणनामा स्थायी तथा अस्थायी दुवै प्रकारका दर्ता भएका वा नभएका सबै आर्थिक गतिविधि गर्ने प्रतिष्ठानहरू समेटिएका छन् । हाल पर्सामा आर्थिक गणना सुपरीवेक्षणका लागि नौ जना गणक खटिएका छन् ।
सरकारी निकायका अनुसार प्राप्त तथ्याङ्कले देशको आर्थिक नीति निर्माण तथा योजना तर्जुमा प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याउनेछ ।